Rule 117
निवृत्तभरण सम्बन्धी कारबाही
(१) शिक्षकले नियुक्ति भएपछि निवृत्तभरण प्रयोजनको लागि अनुसूची–१८ बमोजिमको ढाँचामा तीनप्रति फाराम भरी आफू वहाल रहेको विद्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम फाराम नबुझाउने शिक्षक उमेरको कारणबाट अनिवार्य अवकाश पाउने भएमा त्यस्तो शिक्षकले अवकाश लिने मितिभन्दा नौ महिना अगावै उपनियम (१) बमोजिम फाराम भरी आफू वहाल रहेको विद्यालयमा बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम फाराम भर्न नपाउंदै कुनै शिक्षकको मृत्यु भएमा त्यस्तो शिक्षकले आफ्नो परिवारका सदस्यहरु मध्ये इच्छाएको व्यक्तिले र इच्छाएको व्यक्तिको पनि मृत्यु भएमा वा त्यसरी इच्छाएको नभएमा निवृत्तभरण पाउने निजको परिवारको सदस्यले शिक्षकको मृत्यु भएको तीन महिनाभित्र सम्बन्धित विद्यालय समक्ष उपनियम (१) बमोजिम फाराम भरी विद्यालयमा दिनु पर्नेछ ।
(४) यस नियम बमोजिम निवृत्तभरणको लागि फाराम भरी पठाउने व्यक्तिले कुन जिल्लामा निवृत्तभरण अधिकारपत्र वा पारिवारिक निवृत्तभरण अधिकारपत्र प्राप्त गर्न चाहेको हो सो कुरा खुलाउनु पर्नेछ ।
(५) उपनियम (१), (२) वा (३) बमोजिम फाराम प्राप्त भएपछि शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा व्यवस्थापन समितिको अध्यक्षले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्राप्त फाराम प्रमाणित गरी एकप्रति विद्यालयमा राखी बाँकी दुई प्रति फारामहरु सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम फाराम प्राप्त भएपछि जिल्ला शिक्षा अधिकारीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्राप्त फाराम प्रमाणित गरी एक प्रति आफ्नो कार्यालयमा राखी बाँकी एक प्रति फाराम शिक्षक किताबखानामा पठाउनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिमको फाराम प्राप्त भएपछि शिक्षक किताबखानाले आफूसँग रहेको अभिलेखसँग भिडाई, जाँची उपनियम (१) वा (२) बमोजिमको फाराम भए अवकाश प्राप्त शिक्षकको नाममा अनुसूची–१९ बमोजिमको ढाँचामा निवृत्तभरण अधिकारपत्र र उपनियम (३) बमोजिमको फाराम भए मृत शिक्षकको हकवालाको नाममा अनुसूची–२० बमोजिमको ढाँचामा पारिवारिक निवृत्तभरण अधिकारपत्र प्रदान गर्नु पर्नेछ ।
(८) उपनियम (७) बमोजिम अधिकारपत्र प्राप्त गर्ने व्यक्तिले सो अधिकारपत्रमा उल्लिखित कार्यालयबाट प्रत्येक महिना नियमानुसार निवृत्तभरण रकम पाउनेछ ।